काठमाडौं जिल्ला तेक्वान्दो संघको कार्यवाहक अध्यक्षको जिम्मेवारी खड्कालाई

श्रावण २०,२०७७

-

साउन २०,२०७७ काठमाडौं ।
तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले काठमाडौं जिल्ला तेक्वान्दो संघको कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका छन् । जिल्ला संघको मंगलबार बसेको कार्यसमितिको बैठकले उनलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हो ।
 
यसअघिका अध्यक्ष प्रमोद पराजुलीले राजीनामा दिएपछि उक्त पद रिक्त थियो । त्यस ठाउँमा जिल्ला कार्यसमितिका उपाध्यक्ष खड्कालाई अध्यक्षको जिम्मेवारी दिइएको हो । पराजुली राष्ट्रिय खेलकुद परिषद् ९राखेप० अन्तर्गत भक्तपुर जिल्ला खेलकुद विकास समितिमा तेक्वान्दो सहायक प्रशिक्षकका रुपमा कार्यरत छन् । राष्ट्रिय खेलकुद ऐन २०७७ मा राखेपमा कार्यरत कुनै पनि कर्मचारीले खेलकुद संघमा बस्न नपाउने प्रावधान छ । 
 
सोहीअनुसार पराजुलीले अध्यक्ष पदबाट राजीनामा दिएका हुन् । नयाँ ऐनकै प्रावधानअनुसार कार्यसमिति उपाध्यक्ष राजकुमार लामाले पनि पदबाट राजीनामा दिइसकेका छन् । उनी सिन्धुपाल्चोक जिल्ला खेलकुद विकास समितिमा तेक्वान्दो सहायक प्रशिक्षक हुन् । उक्त पद भने पछि पदपूर्ति गरिने कार्यसमितिले जनाएको छ ।
 
निवर्तमान अध्यक्ष पराजुलीले तेक्वान्दो मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठ, कार्यसमितिका पदाधिकारी र तेक्वान्दो डोजाङका प्रमुखलगायतको उपस्थितिमा भएको कार्यक्रममा खड्कालाई कार्यसमितिको निर्णय पुस्तिका हस्तान्तरण गरे ।