लुम्बिनीमा गुम्बा निर्माणका लागि सार्कका महासचिवको एक रुपियाँ सहयोग अभियान

मंसिर ०४,२०७७

-

मंसिर ४,२०७७ काठमाडौं ।
 
बुद्धको जन्मस्थल लुम्बिनीमा निर्माणाधीन ‘सेन्चुरी फर युनिभर्सल पिस’ नामक गुम्बा निर्माणका लागि दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का महासचिव इसाला रुवान विराकुनले नेपाली एक रुपियाँ दिएर अभियानको शुरुआत गर्नुभएको छ । गुम्बा निर्माणका लागि लुम्बनीमा पुगेर महासचिव विराकुनले एक रुपियाँ सहयोग हस्तान्तरण गर्नुभएको हो ।
 
लुम्बिनीमा शनिबार आयोजित सार्वभौमिक शान्तिका लागि ‘एक रुपियाँ’ अभियान कार्यक्रममा उहाँले बुद्धको जन्मभूमिमा निर्माण भइरहेको सेन्चुरी फर युनिभर्सल पिसले विश्वभरिका शान्तिप्रेमीहरुका लागि भएकाले यस अभियानमा सहभागी हुन सबैलाई आह्वान गर्नुभयो ।
 
विश्वभरका शान्तिप्रेमी बौद्ध धर्मावलम्बीलगायत अन्य धर्म र संस्कृतिसँग सम्बन्धित साधकहरुले समेत साधना गर्ने स्थलको रुपमा दुई वर्ष अघिबाट लुम्बिनीमा उक्त गुम्बाको निर्माण भइरहेको छ ।
 
धर्म गुरु श्याल्पा तेन्जिङ रिन्पोछेले शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई विश्वशान्तिको अभियानको केन्द्रका रुपमा विकास गर्न सेन्चुरी फर युनिभर्सल पिस निर्माण गर्न लागिएको बताउनुभयो । उहाँले एक रुपियाँ सहयोग गरेर अभियानको शुरुआत गरिदिनुभएकोमा सार्कका महासचिव विराकुनलाई धन्यवाद दिनुभयो ।
 
गुम्बा निर्माणका लागि ‘एक व्यक्ति एक रुपियाँ’को अभियान अगाडि सारिएको छ । बुद्धको शिक्षाअनुसार यही मनोवृत्तिले शान्ति, सद्भाव र सहिष्णुता बढाउने विश्वास व्यक्त गर्दै रिन्पोछेले मुठ्ठी दानको अवधारणाबाट यो अभियानको शुरुआत गरिएको बताउनुभयो । दीपावलीको अवसर पारेर शुरु गरिएको अभियानमा नेपालमा १ रुपियाँ तथा बाहिरी मुलुकहरुमा १ यूएस डलर दान गरेर सहभागी हुन सकिने उहाँले जानकारी दिनुभयो ।आजको नेपाल समाचारपत्रमा खबर छ ।