एक महिनाभित्र कक्षा १२ को परीक्षाफल प्रकाशित गर्ने तयारी

मंसिर १०,२०७७

-

मंसिर १०,२०७७ काठमाडौं ।
 
राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सकेको एक महिनाभित्र कक्षा १२ को परीक्षाफल प्रकाशित गर्न तयारी थालेको छ । हिजो मंगलबार पहिलो दिनको परीक्षा सम्पन्न भएलगत्तै बोर्डले एक महिनात्रित्र परीक्षाफल प्रकाशित गर्ने गरी तयारी थालेको हो ।
 
बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले २२ गतेभित्र सबै केन्द्रबाट उत्तरपुस्तिका परीक्षण गरी बोर्डमा पठाउन निर्देशन दिइसकेको जानकारी गराउनुभयो । यो वर्ष विद्यालय आफैले उत्तरपुस्तिका परीक्षण गरी पठाउनुपर्ने व्यवस्था गरेको छ ।
 
४० पूर्णाङ्कको लिखित परीक्षा भएको र विद्यालयबाटै उत्तरपुस्तिका परीक्षण गरी पठाउने व्यवस्था भएका कारण एक महिनाभित्र परीक्षाफल प्रकाशित गर्न सकिने अड्कल गरिएको अध्यक्ष प्राडा पौडेलले जानकारी गराउनुभयो । उहाँले भन्नुभयो– ‘तोकिएको समयमा उत्तरपुस्तिका प्राप्त भए एक महिनाभित्र सजिलै परीक्षाफल प्रकाशित गर्न सक्छौं ।’ तर प्राविधिक र उत्तरपुस्तिका ढिलो आए केही ढिला हुन सक्ने बोर्डको आकलन छ ।
 
अध्यक्ष पौडेलले फरक जिल्लाका करिब १८ हजार विद्यार्थीको उत्तरपुस्तिका बोर्डले परीक्षण गर्नुपर्ने भएकाले केही ढिला हुन सक्ने बताउनुभयो ।
 
बोर्डले फरक जिल्लाबाट परीक्षा दिएका विद्यार्थीको हकमा प्रदेश र शाखा कार्यालयबाट परीक्षा सकेको केही दिनमा उत्तरपुस्तिका पठाउन निर्देशन दिएको छ । तीबाहेक होम सेन्टरबाट परीक्षा दिएका विद्यार्थीको समस्या नपर्ने अड्कल बोर्डले गरेको छ । आजको नेपाल समाचारपत्रमा खबर छ ।