कोरोनाका कारण रासायनिक मलको बिक्री वितरण प्रभावित

बैशाख ३१,२०७८

-आस्था न्यूज

बैशाख ३१, २०७८ काठमाडौं ।
 
कोभिड-१९ (कोरोना भाइरस) महामारीका कारण रासायनिक मलको बिक्री वितरण प्रभावित हुने भएको छ । मल बिक्री केन्द्रहरूमा किसान तथा व्यापारीको भीडभाड अत्यधिक बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालयहरूले बिक्री केन्द्रहरू बन्द गराउन थालेका छन् ।
 
मल बिक्री केन्द्रहरू बन्द हुन थालेपछि ठाउँठाउँमा किसानलाई मलको हाहाकार हुन थालेको छ । कृषि सामग्री केन्द्र लिमिटेडका प्रमुख नेत्र भण्डारीका अनुसार बाहिरबाट आउने रासायनिक मलको प्रवेश बिन्दुका रूपमा रहेको नवलपरासी बन्द भइसकेको छ । हेटौँडाको बिक्री केन्द्र शुक्रबारदेखि बन्द गरिने र एकरदुई दिनमा विराटनगर, भैरहवा र वीरगञ्जको मुख्य बिक्री केन्द्र पनि बन्द हुने उहाँले बताउनुभयो ।
 
ती बिक्री केन्द्र तथा कार्यालयमा काम गर्ने कर्मचारीलाई कोरोना पोजेटिभ देखिन थालेपछि काम गर्न गाह्रो भइरहेको थियो । त्यसमा पनि मलका लागि भीडभाड भइरहेका कारण जिल्ला प्रशासन कार्यालयले बन्द गराउन निर्देशन दिएपछि आफूहरूले बाध्य भएर बन्द गर्न लागेको उहाँले बताउनुभयो ।
 
कोरोना भाइरसबाट कर्मचारीहरू प्रभावित हुन थालेपछि थोरै कर्मचारीले पनि काम गरौँ भन्ने सोच बनाई त्यसैअनुसार व्यवस्था पनि मिलाइरहेकामा सीडीओहरूले नमानेपछि बाध्य भएर बन्द गर्न लागेको उहाँले बताउनुभयो । गोरखापत्रमा खबर छ ।