विश्वकप छनौट: नेपाल बहराइनसँग ३-० गोल अन्तरले पराजित

चैत्र १४,२०८०

-आस्था न्यूज

चैत १४, २०८०   काठमाडौं ।
फिफा विश्वकप तथा एएफसी एशियन कपको संयुक्त छनोटमा नेपाल बहराइनसँग फेरि पराजित भएको छ । 
 
दशरथ रंगशालामा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न अयोग्य भएपछि नेपालले दुवै खेल ‘होम’ एन्ड ‘अवे’ बहराइनमै खेलेको थियो । 
 
पहिलो खेलमा ५–० को पराजय भोगेको नेपालले बुधबार बिहान सकिएको दोस्रो खेलमा ३–० गोल अन्तरले पराजित भएको छ । 
 
बहराइनको जितमा साएद बकेर, अब्दुल्ला युसुफ हेलाल र कामील अल अस्वादले एक एक गोल गरेका थिए ।
 
बहराइनले पहिलो हाफमै गरेको ३ गोल नै निर्णायक बन्यो  । खेलको सातौँ मिनेटमा सैयद बाकरले गोल गरेपछि बहराइनले खेलमा १–० को अग्रता बनायो ।
 
१८औँ मिनेटमा बहराइनका लागि अब्दुल्ला युसुफले पेनाल्टीमार्फत गोल गर्दै खेलमा २–० को अग्रता दिलाए ।   ३६औँ मिनेटमा कामिल अलले गोल गर्दै बहराइनलाई पहिलो हाफमै ३–० को आरामदायी अग्रता दिलाएका थिए ।
 
७३औँ मिनेटमा नेपालले गोल गरे पनि उक्त गोलले मान्यता पाएन । सनिश श्रेष्ठको क्रसमा सन्जिव विष्टले डी बक्बाट वान टच गोल गरेका थिए । तर सहयाक रेफ्रीले अफसाइडको झण्डा उठाएपछि मान्यता पाएन ।
 
बहराइनले दुवै खेलमा नेपालमाथि जित हासिल गर्दै समुह एचमा ४ खेलमा ९ अंक हासिल गरेको छ र समुहमा दोस्रो स्थानमा रहेको छ । 
 
त्यस्तै नेपाल भने चार खेलमा सबै खेलमा हार बेहोरेर अंकविहिन हुदै पुछारमा रहेको छ । यस समुहमा युएई ४ खेलमा सबै खेल जितेर १२ अंकसहित शिर्ष स्थानमा छ भने यमनले ४ खेलमा एक खेल जितेर ३ अंकसहित तेस्रो स्थानमा रहेको छ ।
 
अब नेपालले विश्वकप छनौट अन्तर्गत आगामी जुनमा यमन र युएईसँग खेल्ने तालिका रहेको छ ।