ओली र प्रधानमन्त्री प्रचण्डले आफूहरूसँगको सहमति कार्यान्वयन नगरेको नेपालको भनाई

बैशाख ०३,२०८१

-आस्था न्यूज

वैशाख ३, २०८१ काठमाडौं ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरूसँग गरेको सहमति कार्यान्वयन नगरेको बताएका छन् ।
 
सोमबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा उपलब्ध सचिवालय सदस्यहरूसँगको छलफलका क्रममा अध्यक्ष नेपालले सुदूरपश्चिम प्रकरण ओली र प्रचण्डले सहमति पालना नगर्दाको परिणाम भएको ब्रिफिङ गरेका हुन् । 
 
त्यसक्रममा अध्यक्ष नेपालले आफ्नो पार्टी अहिलेको समीकरण भत्काउनतर्फ नलाग्ने तर हेपिएर र पेलिएर पनि बस्न नसक्ने निष्कर्ष सुनाएका थिए । 
 
‘प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीले हामीसँग गरेको सम्झौता पालना भएन । केन्द्र र प्रदेश सरकार सञ्चालनमा उहाँहरू एकलौटी ढंगले अघि बढ्न खोजेको देखियो’, अध्यक्ष नेपालको भनाई उद्धृत गर्दै उपमहासचिव समेत रहेका जगन्नाथ खतिवडाले रातोपाटीसँग भने, ‘यो सरकार ढाल्न इशारा नै काफी छ । तर अहिले नै हामी त्यसतर्फ लाग्दैनौ ।’
 
त्यसक्रममा अध्यक्ष नेपालले यसअघि ओली र प्रचण्ड दुवैको आग्रहअनुसार आफूहरू सत्ता समीकरणमा जोडिएको बताएका थिए ।